एकल महिलालाई सम्मान गर्दै जनकपुरधाम–५ मा पानी फिल्टर वितरण

जनकपुरधाम, २२ असार । अत्यधिक गर्मीका बीच एकल महिलाको स्वास्थ्य र सम्मानलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिका–५ ले उनीहरूलाई पानी फिल्टर वितरण गरेको छ ।
वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा वडाभित्रका एकल महिलालाई सम्मानसहित पानी फिल्टर हस्तान्तरण गरिएको हो ।
सुरक्षित र स्वच्छ खानेपानीको पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ५ का वडाध्यक्ष बेचन साहले महिला, ज्येष्ठ नागरिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको जीवनस्तर सुधार गर्न वडा निरन्तर सक्रिय रहेको बताए ।
उनले लक्षित वर्गका आवश्यकता अनुसार सामाजिक सुरक्षा तथा कल्याणका कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनका अनुसार वडा कार्यालयले महिला सशक्तीकरण, सामाजिक समावेशीकरण तथा आधारभूत सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले एकल महिलालाई सम्मान गर्दै गरिएको फिल्टर वितरण कार्यक्रम सकारात्मक पहल भएको बताए ।
उनले यस्ता सामाजिक कार्यक्रमसँगै युवालाई सीपमूलक तालिम, उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनका कार्यक्रमसमेत अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा वडा नम्बर ५ का पूर्व वडाध्यक्ष लक्ष्मी साह, समाजसेवी जगन्नाथ साह, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा वडावासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
वडा कार्यालयले महिला, ज्येष्ठ नागरिक तथा अन्य लक्षित समुदायको हितलाई केन्द्रमा राखेर सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी ढंगले निरन्तरता दिइने जनाएको छ ।


