धनुषामा एकैदिन ११ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, २२ असार । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार विभिन्न स्थानमा विशेष खोजतलास अभियान सञ्चालन गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ परेकामध्ये बिगो, चेक अनादर, लागूऔषध तथा सार्वजनिक अपराधलगायतका मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला भइसकेका व्यक्तिहरू रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीलाई एक वर्षसम्मको कैद सजाय तोकिएको छ भने केहीलाई दुई महिनासम्मको कैद सजाय सुनाइएको थियो ।
त्यस्तै, विभिन्न मुद्दामा दुई हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तोकिएका प्रतिवादीहरू पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको बताए ।
उनले भने, ‘अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरेका छौं । कानूनको कार्यान्वयनमा कुनै सम्झौता हुँदैन । फरार रहेका अन्य प्रतिवादीहरूको खोजी पनि तीव्र रूपमा जारी छ ।’
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतको फैसला कार्यान्वयन, अपराध नियन्त्रण तथा फरार अभियुक्तको खोजीलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ ।
साथै अदालतको सजायबाट बच्न फरार रहेकाहरूलाई स्वेच्छाले कानुनी प्रक्रियामा आउन आग्रह गर्दै अन्यथा खोजी अभियान थप कडाइका साथ अघि बढाइने चेतावनी पनि दिएको छ ।

