जनकपुरधाम, २२ असार । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा वर्षौंदेखि भोगचलन गर्दै आएका ३२८ परिवारलाई गाउँब्लक जग्गाको कानुनी स्वामित्वसहित लालपुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय धनुषाको आयोजनामा गणेशमान चारनाथ नगरपालिका–५, चिसापानीमा आयोजित कार्यक्रममा साबिक तल्लो गोदार गाविसका वडा नं. १ देखि ९ सम्मका तथा हालको नगरपालिका–५ र ६ अन्तर्गतका लाभग्राही परिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।

नापी कार्यालय धनुषाका प्रमुख उमेश साहका अनुसार २०७० सालमै जग्गाको नापजाँच सम्पन्न भए पनि प्राविधिक तथा प्रशासनिक जटिलताका कारण लालपुर्जा वितरण प्रक्रिया लामो समयदेखि रोकिएको थियो ।

नापनक्सा, फिल्ड प्रमाणीकरण र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि अहिले वितरण सम्भव भएको उनले बताए ।

प्रमुख साहले गाउँब्लक जग्गाको कानुनी स्वामित्व प्राप्त भएसँगै स्थानीयको आर्थिक अवस्था, बैंकिङ पहुँच र सम्पत्ति सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

उनले अझै पनि कागजात अभाव वा प्राविधिक कारणले वञ्चित रहेका व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।

नगर प्रमुख जितनारायण यादवले पुस्तौँदेखि भोगचलन हुँदै आएको जग्गालाई कानुनी रूपमा मान्यता दिन नगरपालिका निरन्तर सक्रिय रहेको उल्लेख गरे ।

उनले वडा कार्यालय र नापी कार्यालयबीचको समन्वयका कारण लामो समयदेखि रोकिएको लालपुर्जा वितरण सम्भव भएको बताए ।

नगर प्रमुख यादवले वञ्चित रहेका अन्य परिवारलाई पनि क्रमशः आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

लालपुर्जा पाएपछि स्थानीय सुरेश रायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व पाउँदा खुसी व्यक्त गर्दै अब बैंकिङ कारोबार र अन्य कानुनी कामकाजमा सहज हुने बताए ।

कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष जयचन्द्र भट्टराई, वडा नं. ६ का वडाध्यक्ष रञ्जितकुमार साह, नापी कार्यालय धनुषाको टोली नं. १ का प्रमुख रञ्जित यादव, कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।