कार्यालय प्रमुख र सवारी चालक नियन्त्रणमा

सप्तरी, २२ असार । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी टोलीले छापा मार्दै कार्यालय प्रमुख र एक सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
पशुचौपाया तथा बाख्रामा लगाइने महामारीजन्य रोगविरुद्धको पिपिआर खोप कार्यक्रमअन्तर्गत भ्याक्सिनेटरहरूलाई दिइने भुक्तानीसँग सम्बन्धित विषयमा घुस मागिएको उजुरीपछि आयोगको टोली सोमबार कार्यालयमै पुगेर कारबाही गरेको हो ।
अख्तियारको प्रारम्भिक अनुसन्धान अनुसार भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख रामपवित्र दासले भ्याक्सिनेटरहरूबाट भुक्तानी प्रक्रियामा २० देखि २५ प्रतिशतसम्म रकम घुसका रूपमा माग गरेको आरोप लागेको छ ।
सो क्रममा सवारी चालक भोगेन्द्र यादवलाई प्रयोग गरी फोनमार्फत दबाब दिने गरिएको समेत खुलेको बताइएको छ ।
भेटेनरी कार्यालयले भ्याक्सिनेटरहरूलाई पशुचौपायामा प्रति खोप १० रुपैयाँ र बाख्रामा प्रति खोप ५ रुपैयाँका दरले भुक्तानी गर्दै आएको छ ।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले कार्यालयमा छापा मारेर दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि थप प्रक्रिया अघि बढाइएको आयोग स्रोतले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

