महोत्तरी, २२ असार । महोत्तरीका उखु किसानले लामो समयदेखि प्रतीक्षा गरिरहेको उखु बिक्रीबापतको रकम प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ ।

जिल्लाका दुई चिनी उद्योगले किसानलाई उखु खरिदबापतको भुक्तानी सुरु गरेका छन् भने सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका लागि पनि प्रक्रिया अगाडि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार जिल्लाभरका १२ हजार ३२ जना किसानबाट खरिद गरिएको २८ लाख ६७ हजार ९८७.३९ क्विन्टल उखुको मूल्य भुक्तानीको काम अन्तिम चरणमा पुगेको छ ।

यसका लागि एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड, रामनगर र सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिले किसानको खातामा रकम पठाउन थालेका हुन् ।

प्रशासनका अनुसार किसानलाई कुल १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५६ रुपैयाँ किसानको खातामा जम्मा भइसकेको छ । अझै ८१ लाख ९० हजार ७७७ रुपैयाँ बराबरको रकम भुक्तानी हुन बाँकी रहेको जनाइएको छ ।

सबैभन्दा धेरै उखु खरिद गरेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले ११ हजार ८११ जना किसानबाट २८ लाख ५३ हजार १७८.९६ क्विन्टल उखु खरिद गरेको थियो ।

उद्योगले यसबापतको १ अर्ब ७६ करोड ३८ लाख ८५ हजार ७३६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । यद्यपि, ७ जना किसानको बैंक खाता उपलब्ध नभएकाले उनीहरूको ३ लाख ७० हजार २५२ रुपैयाँ अझै वितरण हुन सकेको छैन ।

त्यसैगरी, सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डष्ट्रिजले २१४ जना किसानबाट १४ हजार ८०८.४३ क्विन्टल उखु खरिद गरेकोमा १३ लाख ६० हजार ७२० रुपैयाँ भुक्तानी गरिसकेको छ । तर, उद्योगले अझै ७८ लाख २० हजार ५२५ रुपैयाँ किसानलाई दिन बाँकी रहेको तथ्यांकले देखाएको छ ।

उखुको मूल्यसँगै सरकारले उपलब्ध गराउने प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान वितरणको प्रक्रिया पनि अघि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलका अनुसार उखु किसानलाई उपलब्ध गराइने २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ ३० पैसा अनुदान रकम भुक्तानीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

उनका अनुसार असार १९ गते बसेको जिल्ला भुक्तानी समितिको बैठकले उक्त अनुदान रकम निकासा गरी किसानलाई वितरण गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

भुक्तानी र अनुदान वितरणको प्रक्रिया सुरु भएसँगै लामो समयदेखि रकमको प्रतीक्षामा रहेका उखु किसानमा राहतको अपेक्षा बढेको छ ।

किसानहरूले बाँकी रकम तथा सरकारी अनुदान पनि शीघ्र प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।