४९० कृषकलाई २,४५० फलफूलका बिरुवा वितरण

-श्याम कुमार ठाकुर
सिरहा, २२ असार । सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ४९० जना कृषकलाई निःशुल्क आँप तथा लिचीका बिरुवा वितरण गरेको छ ।
मिर्चैया नगरपालिकाको कृषि विकास शाखाद्वारा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित कार्यक्रमअन्तर्गत १ हजार ८५० वटा आँप र ६ सय वटा लिची गरी कुल २ हजार ४५० वटा फलफूलका बिरुवा कृषकलाई वितरण गरिएको हो ।
बिरुवा वितरण कार्यक्रम २०८३ असार २० गतेदेखि कृषि विकास शाखा परिसरमा सञ्चालन गरिएको थियो ।
बिरुवा वितरण कार्यक्रममा बोल्दै मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवले सिरहा जिल्ला स्वादिलो आँप उत्पादनका लागि देशभर परिचित रहेको उल्लेख गर्दै वितरण गरिएका बिरुवाबाट कृषकले प्रत्यक्ष लाभ लिनुपर्ने बताए ।

उनले फलफूल खेतीको विस्तारले किसानको आयआर्जन बढ्नुका साथै स्थानीय कृषि उत्पादनलाई थप व्यावसायिक बनाउने विश्वास व्यक्त गरे ।
नगर प्रमुख यादवले आगामी दिनमा मिर्चैयाको आँपलाई देशभर चिनिने गरी ब्रान्डिङ गर्ने नगरपालिकाको योजना रहेको जानकारी दिँदै गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनमा समेत नगरपालिकाले आवश्यक सहजीकरण गर्ने बताए ।
नगरपालिकाले यस्ता किसानमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै फलफूल खेतीको विस्तारमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।


