जनकपुरधाम, २२ असार । आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणका नाममा भइरहेका कामप्रति जनस्तरबाट उठ्दै आएको असन्तुष्टि जनकपुरधाम–९ को साकेतनगरमा फेरि एकपटक सतहमा आएको छ ।

केही महिनाअघि मात्रै सहज रूपमा सञ्चालनमा रहेको पक्की सडकलाई अहिले ढल निर्माणको नाममा भत्काइएपछि स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी तथा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको छ ।

रामानन्द चोक नजिकैको साकेतनगर सडक अहिले खाल्डाखुल्डी, हिलो र पानीले भरिएको छ । बर्षाको बीचमा सडक भत्काइएकाले सामान्य वर्षा हुँदा पनि सडक हिँड्नै नसकिने अवस्थामा पुगेको छ ।

स्थानीयका अनुसार वर्षभरि काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा बजेट खर्च गर्न हतारहतार आयोजना सञ्चालन गर्ने परम्पराकै कारण जनताले दुःख पाउनुपरेको हो ।

स्थानीयवासीको भनाइमा ढल व्यवस्थापन आवश्यक भए पनि त्यसका लागि राम्रो अवस्थामा रहेको पक्की सडक नै भत्काउनु योजना निर्माणको कमजोरी र सरकारी निकायबीच समन्वय अभावको परिणाम हो । उनीहरूले विकासभन्दा पनि ‘बजेट सक्ने अभियान’ जस्तो देखिएको टिप्पणी गरेका छन् ।

सोही सडक हुँदै सञ्चालन हुने एन्जल्स बोर्डिङ स्कुलका सयौँ विद्यार्थी दैनिक हिलो र पानी छिचोल्दै विद्यालय पुग्न बाध्य छन् । साना कक्षाका विद्यार्थीहरू जुत्ता–मोजा हातमा बोकेर विद्यालय पुग्ने दृश्य अहिले सामान्य बनेको छ ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयको गेटसम्म बोकेर पुर्‍याउनुपर्ने अवस्था आएको बताएका छन् । केही विद्यार्थी भने सडकको अवस्था देखेर विद्यालय नै नगई घर फर्किने गरेको स्थानीयको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक कामेश्वर यादवले बर्षाको समयमा सडक भत्काउनु प्राविधिक रूपमा पनि उपयुक्त नभएको बताए । उनका अनुसार विकास निर्माणको काम हिउँदमा सम्पन्न गरिएको भए स्थानीयले दुःख पाउनु पर्दैनथ्यो भने निर्माणको गुणस्तर पनि राम्रो हुने थियो ।

उनले सडकको समस्याका कारण विद्यार्थीको उपस्थितिमा असर परेको र शिक्षक–शिक्षिकासमेत नियमित रूपमा विद्यालय आउन कठिनाइ भएको बताए ।

सडकको दुरावस्थाले विद्यालय मात्र नभई स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । यही सडकमा रहेको जनकपुर मोडेल अस्पताल तथा निजी क्लिनिकहरूमा पुग्ने बिरामीहरूले निकै कठिनाइ भोगिरहेका छन् ।

गर्भवती आफन्तलाई उपचार गराउन आएकी एक महिलाले राम्रो अवस्थामा रहेको सडक किन भत्काइयो भन्ने प्रश्न गर्दै ढल निर्माणको योजना सडक निर्माणअघि नै हुनुपर्ने बताइन् । उनका अनुसार एउटै सडक पटकपटक भत्काएर पुनः निर्माण गर्नु सरकारी स्रोतको दुरुपयोग मात्र हो ।

यसै सडकमा सञ्चालनमा रहेको निजी क्लिनिकमा उपचारका लागि आएका सेवाग्राहीहरूले पनि केही दिनअघिसम्म राम्रो रहेको सडक अहिले हिलोमा परिणत भएको देखेर आश्चर्य व्यक्त गरे ।

उनीहरूले प्रत्येक वर्ष असार लाग्नेबित्तिकै विकास निर्माणको नाममा सडक भत्काउने प्रवृत्तिले नागरिकलाई मात्रै दुःख दिने गरेको बताए ।

मधेश प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत उक्त क्षेत्रमा १६७ मिटर लम्बाइमा भूमिगत ह्युमपाइपसहित ढल निकास निर्माणको योजना अघि बढाइएको हो । यसका लागि करिब ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

ई–बिडिङमार्फत ठेक्का प्राप्त गरेको निर्माण कम्पनीले जेठ महिनादेखि काम सुरु गरेपछि डोजर लगाएर पक्की सडक उप्काउन थालेको थियो ।

स्थानीयका अनुसार काम सुरु गर्नुअघि कुनै सार्वजनिक सूचना वा छलफल नगरिएकाले उनीहरूले विरोधसमेत गरेका थिए ।

स्थानीय नवलकिशोर कर्णले सडक किन भत्काइँदैछ, ढल मात्र बन्ने हो वा पुनः सडक पनि निर्माण हुने हो भन्ने स्पष्ट जानकारी नदिइएकाले विरोध गर्नुपरेको बताए ।

स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूले सरकारी निकायको योजना निर्माणमै गम्भीर कमजोरी रहेको बताए । उनीहरूका अनुसार ढल निकासको संरचना सडक निर्माणअघि नै तयार गरिएको भए करोडौँको सडक फेरि भत्काउनुपर्ने अवस्था आउने थिएन ।

स्थानीय प्रभास झाले सार्वजनिक रकमको सही उपयोगमा सरकार गम्भीर नभएको आरोप लगाए । उनका अनुसार केही वर्षअघि मात्रै लाखौँ रुपैयाँ खर्च गरेर बनाइएको सडक पुनः भत्काउनु भनेको करदाताको पैसामाथिको खेलबाड हो ।

स्थानीय खेलकुदकर्मी नवीन सिंहले पनि एउटै सडकमा पटकपटक बजेट खर्च गर्नु विकास नभई आर्थिक अनियमितता भएको टिप्पणी गरे । उनका अनुसार अब पुनः सडक निर्माणमा फेरि लाखौँ रुपैयाँ खर्च हुनेछ ।

जनकपुरधाम उपमहानगरपालिका–९ का वडाध्यक्ष परमेश्वर साहले उक्त आयोजना प्रदेश सरकारको बजेटबाट सञ्चालन भइरहेकाले स्थानीय तहको प्रत्यक्ष भूमिका नरहेको बताए ।

मन्त्रालयबाट जानकारी आएपछि मात्र आफूहरूलाई योजनाबारे जानकारी भएको उनको भनाइ छ ।

स्थानीयको बुझाइमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा एउटै क्षेत्रमा पटकपटक फरक शीर्षकमा बजेट खर्च हुने गरेको छ ।

योजनाको दीर्घकालीन सोचभन्दा आर्थिक वर्षभित्र बजेट सक्ने मानसिकताले विकासको गुणस्तर कमजोर बन्दै गएको उनीहरूको गुनासो छ ।

अनुगमनको प्रभावकारी व्यवस्था नहुँदा आर्थिक वर्षको अन्तिम समयमा गरिने अधिकांश निर्माण कार्य गुणस्तरहीन हुने गरेको अनुभव स्थानीयले सुनाएका छन् ।

उनीहरू अब सडक तत्काल निर्माण सम्पन्न गर्न, कामको गुणस्तर सुनिश्चित गर्न र भविष्यमा एउटै संरचना बारम्बार भत्काएर सार्वजनिक धनको दुरुपयोग हुने प्रवृत्ति रोक्न सम्बन्धित निकायसँग माग गरिरहेका छन् ।