जनकपुरधाम, २२ असार । राजर्षिजनक विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. श्याम नारायण लाभले सोमबार पदभार ग्रहण गर्दै विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान र सुशासनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनकपुरधामस्थित उपकुलपतिको कार्यालयमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा. डा. विद्यासागर वर्मा, रजिष्ट्रार प्रा. डा. बलराम झा, विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पदभार ग्रहणपछि उपकुलपति लाभले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धानमुखी शिक्षाको प्रवर्द्धन, सूचना प्रविधिमैत्री प्रशासन, समयमै परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राख्ने बताए ।

उनले विश्वविद्यालयको समग्र विकासका लागि प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाबीच सहकार्य र विश्वासको वातावरण निर्माण गर्दै संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निवर्तमान उपकुलपति प्रा. डा. विद्यासागर वर्माले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै विश्वविद्यालयको संस्थागत विकासका लागि निरन्तरता र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।

सहभागीहरूले नवनियुक्त उपकुलपति लाभलाई बधाई दिँदै उनको नेतृत्वमा विश्वविद्यालयले शैक्षिक, प्रशासनिक तथा अनुसन्धानका क्षेत्रमा थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।