जनकपुरधाम, २२ असार । मधेश प्रदेश सरकारको पर्यटन विकास कार्यालयले जनकपुरधामका विभिन्न सार्वजनिक स्थल र सडक किनारमा राखेका पर्यटन प्रवर्द्धन बोर्डहरूमा पर्यटन स्थलभन्दा मन्त्रीको ठूलो तस्वीर राखिएको विषयले स्थानीयस्तरमा व्यापक असन्तुष्टि बढेको छ ।

सरकारी बजेटबाट निर्माण गरिएका सूचना बोर्डमा पर्यटन प्रवर्द्धनभन्दा मन्त्रीको प्रचारलाई प्राथमिकता दिइएको भन्दै स्थानीयले यसलाई राज्य स्रोतको दुरुपयोगको संज्ञा दिएका छन् ।

जनकपुरधामको गंगासागर, प्रमुख सडक चोक तथा अन्य स्थानमा राखिएका बोर्डमा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्रालयअन्तर्गत पर्यटन विकास कार्यालयको नाम उल्लेख गरिए पनि बोर्डको बायाँ भागमा मन्त्रीको ठूलो तस्वीर छापिएको छ । त्यसको छेउमा जनकपुरधाम र गंगासागरको धार्मिक तथा सांस्कृतिक महत्वबारे सन्देश लेखिएको देखिन्छ ।

स्थानीयवासी रामएकवाल यादवले सरकारी पर्यटन बोर्ड व्यक्तिको प्रचारका लागि नभई पर्यटकलाई जानकारी दिने माध्यम हुनुपर्ने बताए ।

उनका अनुसार, ‘सरकारी बजेटबाट बनेको बोर्डमा मन्त्रीको फोटो राख्नु गलत अभ्यास हो । मन्त्रीको तस्वीर हटाएर जनकपुरधामका धार्मिक स्थल, मिथिला चित्रकला वा सांस्कृतिक सम्पदाको तस्वीर राखिएको भए पर्यटनलाई बढी फाइदा पुग्थ्यो ।’

अर्का स्थानीय सुनिता झाले जनताले तिरेको करबाट कुनै नेताको व्यक्तिगत छवि निर्माण गर्न नहुने बताइन् ।

‘सरकार बदलिँदा बोर्ड पनि फेरिने हो भने राज्यको पैसा बारम्बार खर्च हुन्छ । पर्यटनको नाममा राजनीतिक प्रचार स्वीकार्य छैन,’ उनले भनिन् ।

व्यवसायी राजेश साहले पनि यस्ता बोर्डले जनकपुरधामको पहिचानभन्दा मन्त्रीको प्रचार गरेको टिप्पणी गरे ।

उनका अनुसार, ‘पर्यटक यहाँ जानकी मन्दिर, गंगासागर, धनुषाधाम वा मिथिला संस्कृतिका कारण आउँछन्, कुनै मन्त्रीको फोटो हेर्न होइन ।’

स्थानीय युवाहरूले सार्वजनिक सम्पत्तिलाई राजनीतिक प्रचार सामग्री बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले पर्यटन विकास कार्यालयले बोर्डको डिजाइन पुनः समीक्षा गरी पर्यटकीय स्थलका तस्बिर र उपयोगी जानकारी समावेश गर्नुपर्ने बताएका छन् ।

सुशासनका जानकारहरूका अनुसार सार्वजनिक स्रोतबाट निर्माण गरिने सूचना सामग्रीमा कुनै एक व्यक्तिको प्रचारमुखी प्रस्तुति गर्नु नैतिक रूपमा विवादास्पद मानिन्छ ।

यस्ता सामग्री राज्यको स्थायी सम्पत्ति भएकाले व्यक्ति नभई संस्था र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको धारणा छ ।

प्रदेशमा पर्यटकीय पूर्वाधार, सरसफाइ, सडक व्यवस्थापन र पर्यटकमैत्री सेवा सुधारमा अपेक्षित काम हुन नसकेको अवस्थामा मन्त्रीको तस्वीरसहित बोर्ड राख्नु प्राथमिकताविपरीतको खर्च रहेको स्थानीयको आरोप छ ।

उनीहरूले पर्यटन प्रवर्द्धनका नाममा व्यक्तिकेन्द्रित प्रचार रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयले बोर्डमा रहेको मन्त्रीको तस्वीर हटाई जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई प्राथमिकतामा राखेर पुनः डिजाइन गर्न माग गरेका छन् ।

स्थानीयको अर्को गुनासो बोर्डको प्रस्तुतीकरणलाई लिएर पनि छ । लाखौं रुपैयाँ खर्चिएको भनिएको पर्यटन प्रवर्द्धन बोर्डमा लेखाइ हातले हतारमा लेखेजस्तो देखिने भएकाले यसको गुणस्तरमाथि नै प्रश्न उठेको छ ।

पर्यटक आकर्षित गर्ने उद्देश्यले राखिएको बोर्ड व्यावसायिक डिजाइनभन्दा विद्यालयको सूचना पाटीजस्तो देखिने गरेको भन्दै स्थानीयले सरकारी निकायको कार्यशैलीको आलोचना गरेका छन् ।