महोत्तरी, २२ असार । महोत्तरीस्थित जिल्ला प्रशासन कार्यालयले राहदानी विभागको नयाँ प्रणाली कार्यान्वयनको तयारीका कारण तीन दिनका लागि राहदानी सेवा स्थगित गर्ने भएको छ ।

कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको राहदानी प्रणालीबाट नयाँ डिजिटल प्रणालीमा रूपान्तरण गर्ने क्रममा डाटा माइग्रेसन तथा अन्य प्राविधिक कार्य गर्नुपर्ने भएकाले असार २४ गतेदेखि २६ गतेसम्म राहदानीसम्बन्धी सम्पूर्ण सेवा बन्द रहनेछ ।

कार्यालयका अनुसार उक्त अवधिमा नयाँ राहदानी आवेदन दर्ता (इन–लाइभ), बायोमेट्रिक विवरण संकलन तथा तयार भइसकेका राहदानी वितरणलगायत सबै सेवा अवरुद्ध हुनेछन् ।

यस अवधिमा सेवाग्राहीले राहदानीसम्बन्धी कुनै पनि सेवा लिन नपाउने भएकाले आवश्यक कामको योजना सोहीअनुसार बनाउन प्रशासनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले असार २९ गते सोमबारदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

नयाँ प्रणाली लागू भएपछि सेवा प्रवाह थप प्रभावकारी, छिटो र व्यवस्थित हुने विश्वास गरिएको कार्यालयको भनाइ छ ।

सेवा अस्थायी रूपमा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै नागरिकलाई आवश्यक सहयोग र सहकार्यका लागि अनुरोध गरेको छ ।

राहदानी विभागले देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा नयाँ प्रविधिमा आधारित राहदानी प्रणाली लागू गर्ने तयारी गरिरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत महोत्तरीमा पनि पुरानो प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरणको प्रक्रिया अघि बढाइएको हो ।