शिक्षकलाई क्षयरोगबारे अभिमुखीकरण, विद्यालयबाटै जनचेतना फैलाउन आग्रह

जनकपुरधाम, २१ असार । नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले शिक्षक शिक्षिकामा क्षयरोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–११ स्थित अरनिको सेकेन्ड्री बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा २५ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह प्रमुख अतिथि तथा संस्थाका जिल्ला सभापति सन्तकुमार कार्की अध्यक्ष थिए ।
कार्यक्रममा वडा नं. १० का आधारभूत स्वास्थ्य प्रमुख अर्चना पाठकले क्षयरोगको परिचय, लक्षण, समयमै परीक्षण र निदानको आवश्यकता, निःशुल्क उपचार सेवा तथा रोगबाट बच्ने उपायबारे प्रशिक्षण दिएकी थिइन् ।
सहभागी शिक्षक शिक्षिकाका जिज्ञासाको समेत उत्तर दिँदै क्षयरोगबारे रहेका भ्रम हटाउने प्रयास गरिएको थियो ।
समापन कार्यक्रममा उपप्रमुख साहले प्रशिक्षणबाट प्राप्त जानकारी विद्यालय, घरपरिवार र समुदायसम्म पुर्याएर क्षयरोग नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

स्थानीय तहले यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
संस्थाका सभापति कार्कीले क्षयरोग नियन्त्रण तथा अन्त्यका लागि सरकारी निकाय, शैक्षिक संस्था र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैको साझा प्रयासबाट मात्रै क्षयरोगमुक्त समाज निर्माण सम्भव हुने धारणा राखे ।

