जनकपुरधाममा राष्ट्रिय खुला हाफ म्याराथन सम्पन्न, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार

जनकपुरधाम, २१ असार । मधेश खेलकुद परिषद्को आयोजना तथा मधेश प्रदेश एथलेटिक्स संघको समन्वयमा जनकपुरधाममा राष्ट्रिय खुला हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा देशका सातै प्रदेशबाट महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहेको थियो । पुरुषतर्फ २१ किलोमिटर तथा महिलातर्फ १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइएको मधेश खेलकुद परिषद्ले जनाएको छ ।
परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले महिला र पुरुषतर्फ छुट्टाछुट्टै रुट निर्धारण गरी प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । निर्धारित दूरी सफलतापूर्वक पूरा गर्दै खेलाडीहरूले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको उनले बताए ।
प्रतियोगितामा दुवै विधातर्फ प्रथम हुने खेलाडीलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ र तृतीयलाई १० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
मधेश खेलकुद परिषद्का अनुसार राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशमा एथलेटिक्स खेलको विकास, नयाँ प्रतिभाको पहिचान र खेलकुद गतिविधिको विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
यस्ता प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनुका साथै प्रदेशमा खेल संस्कृतिको विकास र खेलप्रतिको आकर्षण बढाउन पनि सहयोग पुग्ने परिषद्को विश्वास छ ।

