विद्यालय नेतृत्व बलियो बनाएर सार्वजनिक शिक्षा सुधार गर्नुपर्नेमा जोड

जनकपुरधाम, २१ असार । सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा स्थानीय सरकारसँगको प्रभावकारी सहकार्यको आवश्यकता औँल्याउँदै प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (प्यान) मधेश प्रदेशको प्रदेशस्तरीय सम्मेलन जनकपुरधाममा सम्पन्न भएको छ ।
‘सार्वजनिक शिक्षा रूपान्तरणमा विद्यालय नेतृत्व, स्थानीय सरकार र नीति निर्माणमा साझेदारी’ विषयक सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले विद्यार्थीहरूको सिकाइ उपलब्धि अपेक्षाअनुसार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई मानसिक तथा शारीरिक रूपमा सक्षम बनाउने वातावरण सिर्जना गर्न शिक्षक, अभिभावक, प्रधानाध्यापक र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।
त्यसैगरी, प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदान प्रसाद गौतमले नेपालको शिक्षा क्षेत्र अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको टिप्पणी गरे ।
उनले शिक्षा क्षेत्रलाई पर्याप्त बजेट, स्पष्ट नीति तथा प्रभावकारी कार्यान्वयनका लागि निरन्तर दबाब दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै विकसित मुलुकहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उदाहरण प्रस्तुत गरे ।
शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत सेवाको सुनिश्चितता राज्यको दायित्व भएको उनको भनाइ थियो ।
प्यान मधेश प्रदेशका अध्यक्ष संजय झाको अध्यक्षतामा आयोजित सम्मेलनमा सार्वजनिक शिक्षाको गुणस्तर सुधार, विद्यालय नेतृत्वलाई थप प्रभावकारी बनाउने उपाय, स्थानीय सरकारसँगको साझेदारी, शिक्षा नीति कार्यान्वयनका चुनौती तथा समाधानका विषयमा विस्तृत छलफल भएको थियो ।
सम्मेलनमा सहभागीहरूले विद्यालय नेतृत्व सुदृढ र उत्तरदायी बनेमा मात्र सार्वजनिक शिक्षामा अपेक्षित सुधार सम्भव हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा सामुदायिक विद्यालयहरूले अपनाएका सफल अभ्यासहरू पनि प्रस्तुत गर्दै ती अनुभवलाई अन्य विद्यालयमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

