महोत्तरी, २१ असार । महोत्तरीको गौशाला नगरपालिका–८ भण्टाबारीस्थित ब्रह्मस्थान मन्दिर परिसरमा ठेक्कामा काटिँदै गरेको भिस (मसला)को रुख अनियन्त्रित रूपमा ढलेर लाग्दा एक जना स्थानीय गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान रुख काट्ने क्रममा रामबाबु महतोका २४ वर्षीय छोरा करण महतोले काटिरहेको रुख अचानक ढलेर बाटोबाट हिँडिरहेका स्थानीय ५५ वर्षीय रघुनाथ महतोमाथि खसेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

रुखले लाग्दा रघुनाथ महतोको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो ।

प्रारम्भिक अवस्थामा उनलाई गौशालास्थित एक निजी पोलिक्लिनिकमा उपचार गरिएको भए पनि अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो ।

उनलाई गौशाला नगरपालिका–५ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा हेलिकप्टर अवतरण गराई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

घटनापछि रुखको ठेक्का लिएका रामबाबु महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।