रौतहट, २१ असार । रौतहटमा सशस्त्र प्रहरी बलले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको करिब १२ लाख रुपैयाँ बराबरको भारतीय कपडा र तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालय रौतहटबाट खटिएको मोबाइल गस्ती टोलीले माधवनारायण नगरपालिका–१ दिपही क्षेत्रमा शनिबार गस्ती गर्ने क्रममा अवैध रूपमा ल्याइँदै गरेको कपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार बीआर ०५ यू ३३७१, बीआर ०५ ए ८६६६ र बीआर ०५ ई ३५६४ नम्बरका भारतीय मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको विभिन्न किसिमका कपडाको अनुमानित मूल्य ११ लाख ९२ हजार ५७० रुपैयाँ रहेको छ ।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार गस्ती टोलीलाई देख्नासाथ सामान बोकेका व्यक्तिहरू मोटरसाइकल छाडेर फरार भएका थिए ।

बरामद गरिएका कपडा र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।

पछिल्लो समय भारतसँग जोडिएका सीमावर्ती नाकामा सुरक्षा निगरानी कडा बनाइएपछि तस्करहरूले वैकल्पिक बाटो प्रयोग गर्दै नरकटिया–बन्कुल नाका हुँदै भन्सार छली गरेर सामान भित्र्याउने प्रयास गरेको हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।