जनकपुरधाम, २१ असार । लामो समयदेखि मुआब्जासम्बन्धी विवादका कारण प्रभावित जयनगर–बर्दिबास रेलमार्गको बाँकी १८ किलोमिटर खण्डको निर्माण कार्यले पुनः गति लिएको छ ।

विवाद समाधान भएसँगै निर्माण कम्पनीले धनुषा र महोत्तरी क्षेत्रमा तीव्र रूपमा रेल ट्र्याक बिछ्याउने काम अघि बढाएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार अब निर्माण कार्यलाई तीव्रता दिँदै आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

उनका अनुसार भारतीय निर्माण कम्पनी इरकन इन्टरनेसनलले निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

हाल निर्माणाधीन जयनगर–बर्दिबास रेलमार्गको कुल लम्बाइ ७० किलोमिटर रहेको छ । यसमध्ये जयनगर–कुर्था खण्डमा २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ भने बाँकी खण्डको निर्माण क्रमशः अघि बढिरहेको छ ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको रेल्वेको जग्गा पहिचान गर्ने अभियान पनि सुरु गरेको छ ।

महाप्रबन्धक पराजुलीका अनुसार नक्साका आधारमा रेल्वेको स्वामित्वमा रहेको जग्गाको खोजी गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइनेछ ।

नेपाल–भारत द्विपक्षीय सहकार्यअन्तर्गत निर्माण भइरहेको जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्गलाई दुवै देशबीचको महत्वपूर्ण सीमापार पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ ।

परियोजना सम्पन्न भएपछि नेपाल–भारतबीचको आवागमन, व्यापार तथा आर्थिक गतिविधि थप सहज हुने र नेपालको रेल पूर्वाधार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।