जनकपुरधाम, २१ असार । उच्च अदालत जनकपुरले दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा टुंग्याउँदै पुराना मुद्दाको संख्या शून्यमा झारेको छ ।

अदालतले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को असार १९ गतेसम्मको प्रगति विवरणअनुसार दुई वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन् ।

तथ्यांक अनुसार १८ महिनादेखि दुई वर्ष अवधिका १३ वटा तथा एक वर्षदेखि डेढ वर्ष अवधिका ३८७ वटा मुद्दा मात्रै बाँकी रहेका छन् । अदालतले पुराना मुद्दा फछ्र्योटलाई प्राथमिकतामा राख्दै उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

उच्च अदालत जनकपुरमा चालु आर्थिक वर्षमा जिम्मेवारी सरी आएका २ हजार २६७ र नयाँ दर्ता भएका ४ हजार १६१ गरी कुल ६ हजार ४२८ मुद्दा रहेका थिए । तीमध्ये असार १९ गतेसम्म ४ हजार ३३० वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने २ हजार ९८ वटा मुद्दा विचाराधीन छन् ।

अदालतका रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार जिम्मेवारी सरी आएका मुद्दामध्ये २ हजार ४७ वटा टुंगिएका छन् भने २२० वटा बाँकी छन् । त्यसैगरी, नयाँ दर्ता भएका मुद्दामध्ये २ हजार २८३ वटा फछ्र्योट भइसकेका छन् भने १ हजार ८७८ वटा अझै विचाराधीन छन् ।

अदालतले चालु आर्थिक वर्षका लागि ४ हजार ५४६ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । असार १९ गतेसम्म ४ हजार ३३० वटा मुद्दा टुंगिएसँगै लक्ष्यको ९५.२४ प्रतिशत प्रगति हासिल भएको छ ।

मुद्दा फछ्र्योटका हिसाबले कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरको इजलास सबैभन्दा अगाडि रहेको छ । उनको इजलासबाट १ हजार ३१० वटा मुद्दा फछ्र्योट गरिएको छ ।

त्यसपछि न्यायाधीश टीकाराम आचार्यले १ हजार ११५, जगदीश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलासप्रसाद सुवेदीले ८२६, फुर्पा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ र श्यामकुमार भट्टराईले ५७८ वटा मुद्दा फछ्र्योट गरेका छन् ।

अदालतले पुराना मुद्दाको चाप घटाउँदै समयमै न्याय सम्पादनलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।