जनकपुरधाम, २१ असार । मैथिली विकास कोषले जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूमा मैथिली माध्यमबाट स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयलाई ऐतिहासिक र दूरदर्शी कदमको रूपमा स्वागत गरेको छ ।

कोषका अध्यक्ष जीवनाथ चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णयले मातृभाषामार्फत शिक्षाको प्रवर्द्धन गर्दै मिथिलाको भाषा, संस्कृति, इतिहास, लोकपरम्परा तथा पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहप्रति विशेष धन्यवाद तथा बधाई व्यक्त गरिएको छ । साथै, उपमहानगरपालिकाका जनप्रतिनिधि, शिक्षा शाखा, स्थानीय पाठ्यक्रम निर्माण समिति, विज्ञ तथा यस अभियानमा योगदान पुर्याउने सबैप्रति आभार प्रकट गरिएको छ ।

मैथिली विकास कोषले मातृभाषामा शिक्षा प्रदान गरिँदा बालबालिकाको सिकाइ प्रभावकारी हुनुका साथै उनीहरू आफ्नै भाषा, संस्कृति र सभ्यतासँग गहिरो रूपमा जोडिने विश्वास व्यक्त गरेको छ । कोषका अनुसार यो निर्णय स्थानीय पाठ्यक्रम कार्यान्वयनमा मात्र सीमित नभई मिथिलाको सांस्कृतिक धरोहर र अस्मितालाई भावी पुस्तासँग जोड्ने ऐतिहासिक पहल हो ।

कोषले जनकपुरधाम उपमहानगरपालिकाको यो कदम सम्पूर्ण मिथिलाका अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेको छ ।

साथै, मैथिली भाषा, साहित्य, शिक्षा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि जनकपुरधाम उपमहानगरपालिकासँग निरन्तर सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।