जनकपुरधाम, २० असार । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयको आयोजना तथा उच्च अदालत जनकपुरको सहकार्यमा संवैधानिक तथा कानुनी विषयमा दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका उच्च अदालत र विभिन्न जिल्ला अदालतका अधिकांश न्यायाधीशहरूको सहभागिता रहेको थियो ।

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सुनिल रञ्जन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी विशिष्ट अतिथि तथा गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतो विशेष अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर लगायत न्यायिक क्षेत्रका उच्च पदाधिकारी, सरकारी वकिल तथा कानुन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संविधानले परिकल्पना गरेको विधिको शासन, न्यायमा नागरिकको सहज पहुँच र सुशासनको प्रभावकारी कार्यान्वयनका लागि न्यायपालिका, सरकार र कानुनी निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।

उनले संविधान र कानुनको सही कार्यान्वयनबाट मात्रै लोकतान्त्रिक शासन व्यवस्था बलियो बन्ने उल्लेख गर्दै यस्ता अन्तरक्रियाले न्याय सम्पादन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री यादवले बदलिँदो कानुनी परिवेश, नयाँ संवैधानिक अभ्यास तथा नागरिकका बढ्दा अपेक्षालाई सम्बोधन गर्न न्यायिक निकायहरूबीच अनुभव आदानप्रदान आवश्यक रहेको उल्लेख गरे ।

उनले प्रदेश सरकारले कानुनी तथा संस्थागत सुधारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेकोसमेत बताए ।

विशेष अतिथि गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले संविधानको मर्मअनुसार कानूनको कार्यान्वयन र न्यायिक प्रणालीलाई समयानुकूल बनाउनु अहिलेको आवश्यकता भएको बताए ।

उनले कानून निर्माण, कार्यान्वयन र न्याय सम्पादनबीच प्रभावकारी समन्वय हुन सके मात्र नागरिकले वास्तविक न्यायको अनुभूति गर्न सक्ने धारणा राखे ।

मन्त्री महतोले प्रदेश सरकार कानूनको प्रभावकारी कार्यान्वयन, न्यायिक सुशासन तथा कानुनी सचेतना अभिवृद्धिका लागि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले न्यायिक निकायबीचको सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि न्यायिक व्याख्या, कानुनी एकरूपता र समकालीन चुनौतीबारे गहन छलफल आवश्यक रहेको बताए। उनले न्यायपालिकाले नागरिकको विश्वास कायम राख्न निष्पक्ष, पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले न्यायिक अभ्यासमा देखिएका चुनौती, कानुनी सुधारका सम्भावना तथा अदालतहरूबीच अनुभव आदानप्रदानको महत्वबारे धारणा राखेका थिए ।

अध्यक्षीय मन्तव्य राख्दै मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता डा. सिंहले दुईदिने अन्तरक्रिया कार्यक्रमले संवैधानिक तथा कानुनी विषयमा न्यायाधीश, सरकारी वकिल र सरोकारवाला निकायबीच गम्भीर विमर्श गर्ने अवसर प्रदान गरेको बताए ।

उनले यस्ता छलफलबाट प्राप्त सुझाव र निष्कर्षले न्याय सम्पादन प्रणालीलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

डा. सिंहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सर्वोच्च अदालत, उच्च अदालत जनकपुर, जिल्ला अदालतका न्यायाधीशहरू, सरकारी वकिल, आयोजक टोली तथा सहभागी सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता विषयगत कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा संवैधानिक व्यवस्था, कानुनको कार्यान्वयन, न्यायिक अभ्यास, प्रदेश सरकारसँग सम्बन्धित कानुनी विषय, अन्तरसरकारी समन्वय तथा समसामयिक न्यायिक चुनौतीका विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमबाट प्राप्त सुझावहरूले न्यायिक प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी तथा नागरिकमुखी बनाउन महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।