मधेशमा लागुऔषधविरुद्ध प्रहरीको कडा अभियान, २० दिनमा ५८ जना पक्राउ

जनकपुरधाम, २० असार । मधेश प्रदेशका आठवटै जिल्लामा प्रहरीले सञ्चालन गरेको विशेष लागुऔषध नियन्त्रण अभियानअन्तर्गत २० दिनको अवधिमा ५८ जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार असार १ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
तथ्याङ्कअनुसार सप्तरीबाट ३, सिरहाबाट १५, धनुषाबाट १०, महोत्तरीबाट ९, सर्लाहीबाट ३, रौतहटबाट २, बाराबाट ५ तथा पर्साबाट ११ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ठूलो परिमाणमा गाँजा, ब्राउन सुगर (खैरो हिरोइन) तथा विभिन्न प्रकारका लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ ।
बरामद भएका लागुऔषधको परिमाण तथा प्रकृतिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै व्यक्तिविरुद्ध लागुऔषध सम्बन्धी कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको छ ।
साथै, लागुऔषधको अवैध कारोबार, ओसारपसार र दुरुपयोग नियन्त्रणका लागि प्रदेशभर सञ्चालन भइरहेको विशेष अभियानलाई आगामी दिनमा थप प्रभावकारी र सशक्त बनाइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

