सीमावर्ती वन संरक्षणमा नेपाल–भारतको साझा प्रतिबद्धता

पर्सा, २० असार । नेपाल–भारत सीमावर्ती वन क्षेत्रको संरक्षण, जैविक विविधताको सुरक्षा तथा वन्यजन्तु व्यवस्थापनमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले पर्सा जिल्लाको ठोरीस्थित जंगल रिसोर्टमा नेपाल–भारत ट्रान्स–बाउन्ड्री बैठक सम्पन्न भएको छ ।
बैठकमा भारतको उत्तर प्रदेश प्रयागराजबाट भारतीय वन सेवाका फिल्ड डाइरेक्टर गौरव ओझा, बिहारको मधुबनीबाट बिहार वन सेवाका फरेस्टर राहुल कुमार झासहित दुवै देशका वन क्षेत्रसँग सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो ।
बैठकमा सीमावर्ती वन क्षेत्रको संरक्षण, वन्यजन्तुको आवतजावत, अवैध वन पैदावार ओसारपसार नियन्त्रण, डढेलो व्यवस्थापन तथा सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले नेपाल र भारतबीचको ट्रान्स–बाउन्ड्री सहकार्यले सीमावर्ती वन तथा जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले सीमापार हुने वन्यजन्तुको संरक्षण, अवैध गतिविधि नियन्त्रण र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि दुवै देशका निकायबीच नियमित समन्वय र अनुभव आदानप्रदान आवश्यक रहेको बताए ।
झाले यस्ता बैठकले दुई देशका वन अधिकारीबीचको आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै साझा चुनौतीको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
कार्यक्रममा सहभागी अधिकारीहरूले सीमावर्ती वन क्षेत्रको संरक्षणका लागि भविष्यमा समेत संयुक्त पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

