जनकपुरधाम, २० असार । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अपेक्षाभन्दा निकै सुस्त गतिमा अघि बढेको छ ।

असार महिनाको तेस्रो सातासम्म आइपुग्दा प्रदेशभर कुल धान खेतीयोग्य क्षेत्रफलको १४.७३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांक सार्वजनिक भएको छ ।

किसानहरू पर्याप्त वर्षा नहुनु, सिँचाइको अभाव तथा मौसमको अनिश्चितताका कारण समयमै रोपाइँ गर्न नसकेको बताइन्छ ।

कृषि विकास निर्देशनालय मधेश प्रदेशले सार्वजनिक गरेको असार १९ गतेसम्मको विवरणअनुसार प्रदेशका आठवटै जिल्लामा गरी ५९ हजार ८९५.०६ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।

मधेश प्रदेशमा कुल ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरे पनि हालसम्म रोपाइँको गति निकै कमजोर देखिएको हो ।

निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार सिरहा जिल्लामा सबैभन्दा बढी २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा कुल ५४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म ६ हजार ५५५ हेक्टरमा रोपाइँ भएको छ ।

सप्तरी दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६८ हजार हेक्टर क्षेत्रफलमध्ये १६ हजार ३२० हेक्टर अर्थात २४ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

धनुषामा ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरे पनि हालसम्म १५ प्रतिशत अर्थात ६ हजार ५५५ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

त्यस्तै, बारामा कुल ४५ हजार १ सय हेक्टरमध्ये ५ हजार ८६३ हेक्टर अर्थात १३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

महोत्तरीमा ४० हजार हेक्टरमध्ये ४ हजार ९४८ हेक्टर अर्थात १२.३७ प्रतिशत क्षेत्रमा धान रोपिएको छ भने पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये ६ हजार ४७२.५६ हेक्टर अर्थात १२ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

रौतहटमा भने ३८ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ३ हजार २७२.५६ हेक्टर अर्थात ८.५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको छ ।

सबैभन्दा कम प्रगति सर्लाहीमा देखिएको छ । जिल्लामा ४२ हजार ६९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरे पनि हालसम्म ३ हजार ४१५ हेक्टर अर्थात ८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये करिब ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रफलमा प्रत्येक वर्ष धान खेती गरिन्छ ।

धान मधेश प्रदेशको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ सम्पन्न हुन नसक्दा उत्पादनमा समेत असर पर्ने चिन्ता कृषि क्षेत्रका जानकारहरूले व्यक्त गरेका छन् ।

कृषि विज्ञहरूका अनुसार आगामी केही दिनभित्र पर्याप्त वर्षा भए रोपाइँको गति तीव्र हुने अपेक्षा गरिएको छ । तर, वर्षा अझै ढिलो भए उत्पादनमा गिरावट आउने, किसानको लागत बढ्ने र खाद्य सुरक्षामा समेत असर पर्न सक्ने चेतावनी दिइएको छ ।

निर्देशनालयले किसानलाई उपलब्ध सिँचाइ स्रोतको अधिकतम उपयोग गरी समयमै रोपाइँ सम्पन्न गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, कृषि कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्राविधिक सहयोग र बीउ–मलको व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएको जनाएको छ ।