जनकपुरधामका विद्यालयमा कक्षा १ देखि ८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

जनकपुरधाम, २० असार । जनकपुरधाम उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा मैथिली भाषामार्फत स्थानीय पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्ने भएको छ ।
स्थानीय इतिहास, भाषा, कला, संस्कृति तथा मौलिक पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने उद्देश्यले तयार गरिएको पाठ्यक्रम कार्यान्वयनको अन्तिम तयारी पूरा भएको उपमहानगरपालिकाले जनाएको छ ।
पाठ्यक्रमका लेखक डा. हेमप्रसाद साहले स्थानीय पाठ्यक्रम नगरप्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
पाठ्यक्रम ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म उक्त पाठ्यक्रम मैथिली माध्यमबाट अनिवार्य रूपमा अध्यापन गराइने जानकारी दिए ।
उनले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो भाषा, संस्कृति, इतिहास, धार्मिक तथा सांस्कृतिक सम्पदाबारे व्यावहारिक र तथ्यमा आधारित ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरे । यसबाट बालबालिकामा आफ्नो पहिचानप्रति गौरव, जिम्मेवारी र अपनत्वको भावना विकास हुने उनको भनाइ थियो ।
तयार गरिएको पाठ्यक्रममा जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, स्थानीय भाषा, साहित्य, कला, चाडपर्व, सामाजिक मूल्य मान्यता, प्राकृतिक सम्पदा तथा स्थानीय जीवनशैलीसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।
यसले स्थानीय ज्ञान, सीप र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
स्थानीय पाठ्यक्रम मस्यौदा तथा लेखन समितिको संयोजक अञ्जु पाण्डेको नेतृत्वमा तयार भएको उक्त पाठ्यक्रम निर्माणमा श्यामसुन्दर शशि, सुनिल मल्लिक र विनिता ठाकुरले विज्ञका रूपमा योगदान दिएका थिए ।
उपमहानगरपालिकाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन तथा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को व्यवस्थाअनुसार स्थानीय आवश्यकता, भाषा, संस्कृति र पहिचानलाई केन्द्रमा राखेर पाठ्यक्रम तयार गरिएको हो ।
स्थानीय पाठ्यक्रमको कार्यान्वयनसँगै जनकपुरधामको मौलिक इतिहास, भाषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

