सिरहा, २० असार । तराई–मधेशको जीवनरेखा मानिने हुलाकी सडक र यसअन्तर्गतका पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिरहामा राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना गरिने भएको छ ।

हुलाकी सडक सङ्घर्ष समितिको आयोजनामा आगामी साउन २ गते शनिबार सिरहाको बरियारपट्टीस्थित श्री जनता माध्यमिक विद्यालयमा सम्मेलन हुने भएको हो ।

समितिका अनुसार राणाकालदेखि निर्माण सुरु भएर पनि पूर्णता पाउन नसकेको हुलाकी सडक र विशेषगरी कमला नदीमा निर्माणाधीन पुलको लामो समयदेखिको अलपत्र अवस्थालाई सांस्कृतिक माध्यमबाट उजागर गर्न कार्यक्रम आयोजना गरिएको हो ।

गत करिब १० वर्षदेखि धनुषा–सिरहा जोड्ने कमला नदीमा पुल निर्माणका लागि स्थानीयवासीले शान्तिपूर्ण जुलुस, सडक जाम, घेराउ, विज्ञप्ति र आमरण अनसनसम्मका आन्दोलन गर्दै आए पनि अझैसम्म समाधान ननिस्किएको समितिले जनाएको छ ।

निर्माण सम्पन्न भइसकेको पुल भासिएपछि पुनः निर्माण प्रक्रिया पनि अघि नबढेको आरोप स्थानीयको छ ।

हुलाकी सडक सङ्घर्ष समितिका संयोजक रामरिझन यादवका अनुसार सरकारबाट पटकपटक आश्वासन आए पनि ठोस काम हुन नसकेको भन्दै दबाब सिर्जना गर्न कवि सम्मेलनमार्फत मुद्दा उठाउन लागिएको हो ।

उनका अनुसार कमला पुल मात्र नभई झापाको कन्काई नदी, सर्लाही–रौतहट जोड्ने बागमती नदी तथा चितवन–नवलपरासी जोड्ने नारायणी नदीका पुलहरू पनि वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।

त्यसैगरी, सिरहा खण्डको सहजा खोलाको पुल ५ वर्षदेखि निर्माण अधुरो रहेको र धनुषा खण्डको अवस्था झनै दयनीय रहेको समितिको भनाइ छ ।

सम्मेलनमा हुलाकी सडकले छोएका झापादेखि कञ्चनपुरसम्मका १९ जिल्लाका कविहरूलाई लिखित निमन्त्रणा गरिएको छ भने अन्य जिल्लाका कविहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ ।

सिरहा जिल्लाभित्रका विद्यालय तथा क्याम्पसहरूलाई आन्तरिक प्रतिस्पर्धामार्फत उत्कृष्ट तीन जना विद्यार्थी छनोट गरी सहभागी गराउने व्यवस्था गरिएको छ । जसमध्ये प्रत्येक शैक्षिक संस्थाबाट एक जना विद्यार्थीले मात्र कविता वाचन गर्न पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५ हजार, द्वितीयलाई रु ३ हजार, तृतीयलाई रु २ हजार र पाँच जना सान्त्वना विजेतालाई रु १ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।