रौतहट, २० असार । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत एकै दिन २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्ला अदालत गौरबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइएपछि लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई शुक्रबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये अधिकांश चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन् ।

उनीहरूमध्ये देवेन्द्र राजत बरै, राजकिशोर साह, सुशील पटेल, रामनाथ सहनी, रोकेश पटेल, दिपेन्द्र प्रसाद पटेल, रामबाबु प्रसाद पटेल, शिवनाथ प्रसाद जयसवाल, धर्मेन्द्र कुमार दास, कमेश्वर प्रसाद महतो, अमामुलदिन, बिजेश पटेल, मनोज कुमार राजत, पुनित प्रसाद यादव, जयराम मुखिया, विन्देश्वर प्रसाद पटेल र कृष्ण लामा रहेका छन् ।

यस्तै, किर्ते नागरिकता सम्बन्धी मुद्दामा रुपेश राय, प्रमुनन्दन प्रसाद यादव र रञ्जिता कुमारी यादव पक्राउ परेका छन् भने सवारी अंगभंग मुद्दाका प्रतिवादी प्रमोद कुमार चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले पक्राउ परेका सबै २१ जनालाई कैद भुक्तान तथा फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइसकेको जनाएको छ ।

फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।