११ लाखभन्दा बढीका अवैध सामान बरामद

जनकपुरधाम, २० असार । सिरहाका विभिन्न सीमावर्ती नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै तथा भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका करिब ११ लाख १० हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
नम्बर ७ गण हेडक्वार्टर सिरहाले जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको नियमित गस्ती तथा विशेष निगरानीका क्रममा मोटरसाइकल, किराना सामग्री र मदिरासहित अनुमानित ११ लाख १० हजार ४२५ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
उनले सीमावर्ती क्षेत्रमा हुने भन्सार छलि, चोरीपैठारी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप प्रभावकारी बनाइएको बताए ।
यस्ता गतिविधि रोक्न नियमित गस्ती र सूचनाको आधारमा निगरानीलाई अझ सुदृढ बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि स्थानीयवासीसँग समेत समन्वय बढाउँदै निगरानीलाई निरन्तरता दिने जनाएको छ ।

