जनकपुरधाम, २० असार । लायन्स क्लब अफ जनकपुरधामले आफ्नो स्वर्ण जयन्ती वर्षको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै जनकपुरधामस्थित ऐतिहासिक राम मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

’50 Golden Years of Service to Humanity’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको स्वर्ण जयन्ती वर्षअन्तर्गत क्लबले शनिबार मन्दिर परिसरको सरसफाइ गरी स्वच्छ, सफा र व्यवस्थित धार्मिक वातावरण निर्माणमा योगदान पुर्‍याएको जनाएको छ ।

कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले मन्दिर परिसरमा जम्मा भएका फोहोर संकलन गर्नुका साथै धार्मिक सम्पदाको संरक्षण र सरसफाइप्रति आम नागरिकलाई सचेत बन्न आग्रह गरेका थिए ।

क्लबका पदाधिकारीहरूले सामाजिक सेवासँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि आफ्नो प्रतिबद्धता रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता जनहितका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने बताए ।

लायन्स क्लब अफ जनकपुरधामले स्वर्ण जयन्ती वर्षभर स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।