धनुषामा विवाहको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु

जनकपुरधाम, १९ असार । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाह समारोहका क्रममा विहेको रथ अनियन्त्रित भई भीडमा पस्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको उपचारका क्रममा मृत्यु भएको हो ।
घटना गएराति स्थानीय केश्वर मुखियाकी छोरीको विवाहको मटकोर विधि चलिरहेका बेला भएको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बरको विहेको रथको ब्रेक अचानक फेल भएपछि रथ अनियन्त्रित भई विवाह समारोहमा उपस्थित भीडतर्फ पसेको थियो ।
दुर्घटनामा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया पनि घाइते भएकी छन् । उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले दुर्घटनामा संलग्न रथलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

