जनकपुरधाम, १९ असार । अनुगमनका क्रममा सरसफाइमा लापरबाही तथा म्याद गुज्रेका खाद्यवस्तुको प्रयोग गरेको भेटिएपछि जनकपुरधामका पाँच होटललाई जरिवाना गरिएको छ ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको अगुवाइमा जनकपुरधामका विभिन्न होटल तथा भोजनालयमा शुक्रबार गरिएको अनुगमनका क्रममा सरसफाइमा लापरबाही तथा म्याद गुज्रेका खाद्यवस्तुको प्रयोग गरेको भेटिएपछि पाँच होटललाई कुल १ लाख ९५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैह्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालसहितको संयुक्त अनुगमन टोलीले जनकपुरधामका १२ वटा होटल तथा भोजनालयमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा केही होटलमा अत्यधिक फोहर वातावरणमा खाद्यान्न तयारी तथा बिक्री वितरण भइरहेको, म्याद गुज्रेका खाद्य सामग्री भण्डारण तथा प्रयोग गरिएको र खाद्य स्वच्छतासम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरिएको पाइएको टोलीले जनाएको छ ।

खाद्य ऐनअनुसार राजु होटललाई ४० हजार रुपैयाँ, सीताराम भोजनालयलाई २५ हजार रुपैयाँ, हंशराज मिष्ठान्न भण्डारलाई ५० हजार रुपैयाँ, नवरंगलाई ४० हजार रुपैयाँ तथा न्यू सिटी होटललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए ।

अनुगमन टोलीले होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरसफाइमा विशेष ध्यान दिन, म्याद गुज्रेका खाद्यवस्तु तत्काल नष्ट गर्न र खाद्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशनसमेत दिएको छ ।

प्रदेश सरकारका अनुसार उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी र निरन्तर बनाइनेछ ।