धनुषामा विभिन्न मुद्दाका ५ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, १९ असार । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार जिल्ला अदालत धनुषाको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना विगोसम्बन्धी मुद्दामा दोषी ठहर भई १ वर्ष ६ महिनाको कैद सजाय पाएका थिए । बाँकी चार जना लागूऔषधसम्बन्धी विभिन्न मुद्दाका फरार प्रतिवादी हुन् ।
उनीहरूमध्ये दुई जनालाई जनही १ महिना कैद र २०० रुपैयाँ जरिवाना, एक जनालाई ७ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना तथा अर्का एक जनालाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना हुने फैसला अदालतले गरेको थियो ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

