जनकपुरधाम, १९ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको नेतृत्वमा शुक्रबार जनकपुरधामका होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनका क्रममा भानु चोकस्थित राजु होटललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलीले होटलमा अत्यधिक फोहोर रहेको, सरसफाइको न्यूनतम मापदण्डसमेत पालना नगरेको तथा सर्वसाधारणलाई अस्वस्थकर खाना बिक्री गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले तत्काल ४० हजार रुपैयाँ जरिवाना गरेका हुन् ।

त्यसैगरी, जनकपुरधामस्थित सीतासरण होटलमा समेत म्याद गुज्रिएका तथा उपभोगका लागि अयोग्य अखाद्य सामग्री फेला परेपछि ती सामग्री अनुगमन टोलीको उपस्थितिमै नष्ट गरिएको छ ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतोले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले उपभोक्तालाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खाद्य सामग्री उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै मापदण्ड विपरीत सञ्चालन हुने होटल तथा रेष्टुरेन्टमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताए ।

उनले अनुगमन कुनै एक दिनको कार्यक्रम नभई नियमित रूपमा सञ्चालन हुने अभियान भएको उल्लेख गर्दै सबै व्यवसायीलाई सरसफाइ कायम राख्न, खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्न र उपभोक्ताप्रति जिम्मेवार बन्न आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले जनकपुरधामका विभिन्न होटल तथा रेष्टुरेन्टमा अनुगमनलाई निरन्तरता दिएको जनाएको छ ।