जनकपुरधाम, १९ असार । महोत्तरीको गौशाला नगरपालिकाले आफ्ना आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाको विरोध गर्दै शुक्रबारदेखि सम्पूर्ण सेवा प्रवाह स्थगित गरेको छ ।

नगरपालिकाले विज्ञप्ति जारी गर्दै पक्राउ परेका नगर प्रहरीको अविलम्ब रिहाइ र कर्मचारीको सुरक्षाको सुनिश्चितता नभएसम्म नगरपालिका तथा मातहतका कार्यालयबाट कुनै पनि सेवा सञ्चालन नगर्ने जनाएको हो ।

नगरपालिकाका अनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालय परिसरमा ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीको टोलीले कुनै पूर्वजानकारी वा समन्वयबिना कार्यालयभित्र प्रवेश गरी नियन्त्रणमा लिएको थियो । नगरपालिकाले उक्त कार्यलाई ‘धरपकड शैली’को भन्दै आपत्ति जनाएको छ ।

नगरपालिकाले घटनाले स्थानीय तहमा कार्यरत कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै संविधानले स्थानीय सरकारलाई दिएको अधिकार क्षेत्रभित्र जिम्मेवारी निर्वाह गरिरहेका नगर प्रहरीमाथि गरिएको कारबाही स्थानीय सरकारको अधिकारमाथिको हस्तक्षेप भएको दाबी गरेको छ ।

घटनापछि नगरपालिकाका कर्मचारीहरू असुरक्षित र त्रसित बनेको जनाउँदै नगरपालिकाले पक्राउ परेका नगर प्रहरीलाई तत्काल रिहा गर्न र कर्मचारीको सुरक्षाको स्पष्ट प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरेको छ ।

नगरपालिकाले माग पूरा नभएसम्म नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमार्फत प्रदान गरिने सेवा स्थगित रहने चेतावनी दिएको छ ।