सिरहा, १९ असार । सिरहामा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएर एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् । उनको खुट्टामा गोली लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नवराजपुर गाउँपालिका–४ मा लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि प्रतिरोध गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।

गोली लागेर घाइते भएका कलामलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनको अवस्था उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट प्लास्टिकसहित १२२.८० ग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गरेको जनाएको छ । बरामद पदार्थको परीक्षण तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ ।

यसअघि पनि केही दिनअघि सिरहा प्रहरीले लागूऔषध नियन्त्रण अभियानकै क्रममा गोली चलाएर दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।

पछिल्ला दिनमा भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको जनाएको छ ।