रौतहट, १९ असार । रौतहटको राजपुर नगरपालिकामा विद्यालय भवन निर्माणका क्रममा लागत अनुमानभन्दा बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित नगरपालिकाका इन्जिनियर मोहम्मद शाह फैसल, जनता नमुना माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरमाथि जनही ११ लाख १० हजार ११४ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

आरोपअनुसार राजपुर नगरपालिका–५ स्थित जनता नमुना माध्यमिक विद्यालयमा निर्माण गरिएको ८ कोठे प्रि–स्कुल ब्लक भवनको लागत अनुमान बढाएर अनियमितता गरिएको हो ।

प्रारम्भिक लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ रहेकोमा निर्माण समितिले त्यसलाई संशोधन गर्दै १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ कायम गरी काम अघि बढाएको आयोगको दाबी छ ।

पछि वास्तविक लागतभन्दा ११ लाख १० हजार ११४ रुपैयाँ बढी देखाई सोही बराबरको बिल तथा भुक्तानी लिई रकम अनियमित रूपमा निकासा गरिएको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयोगले उक्त कार्यमा संलग्न चारै जनालाई कानुनी दायरामा ल्याउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।