सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न र दैनिक सामग्री सहयोग

जनकपुरधाम, १९ असार । सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित वृद्धाश्रममा शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरूले करिब २७ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकका अनुसार वृद्धाश्रमलाई ८ थान सिलिङ फ्यान, १८ थान साडी, २ कार्टुन फ्रुटी, सोयाबिन, चना, बिस्कुट लगायतका खाद्यान्न तथा दैनिक आवश्यक सामग्री उपलब्ध गराइएको हो ।
कार्यक्रममा बोल्दै बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समाजका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।
उनले ज्येष्ठ नागरिक, विपन्न तथा सहयोग आवश्यक समुदायप्रति सहयोग पुर्याउनु बैंकको सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
त्यसैगरी, बैंकका जनकपुरधाम शाखा प्रमुख अभय ठाकुरले सीएसआर कार्यक्रमले बैंक र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखे ।
उनले आवश्यकताअनुसार समाजका विभिन्न क्षेत्रलाई सहयोग गर्ने कार्यलाई बैंकले प्राथमिकतामा राखेको बताए ।
जानकी वृद्धाश्रमका लेखापाल रमेश मिश्रले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक व्यवस्थापनमा यसले सहजता ल्याउने उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, वातावरण संरक्षण तथा विपन्न समुदायको हितमा अझ सक्रिय रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बैंकका कर्मचारी रोशन झा, मेनका सिंहलगायतको उपस्थिति रहेको थियो ।
बैंकले देशभर विभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत तथा सामाजिक सेवासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

