कार्यालय समयमा सुनसान बहुअर्वा आयुर्वेदिक औषधालय

जनकपुरधाम, १९ असार । धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वास्थित बहुअर्वा आयुर्वेदिक औषधालयमा कार्यालय समयमै कर्मचारी अनुपस्थित रहेको भेटिएको छ ।
सर्वसाधारण उपचार तथा स्वास्थ्य सेवा लिन पुगेका बेला औषधालयका अधिकांश कार्यकक्ष खाली देखिएका छन् भने जिम्मेवार कर्मचारीहरू कार्यालयमा नभेटिएपछि सेवाप्रवाहमाथि नै प्रश्न उठेको छ ।
स्थलगत अवलोकनका क्रममा वरिष्ठ कविराज निरीक्षक अनिरुद्ध साहको कार्यकक्ष बाहिर नेमप्लेट टाँसिएको भए पनि कार्यकक्षको ढोकामा ताला लागेको अवस्थामा भेटियो ।

कार्यालय खुलेको समयमा नै जिम्मेवार कर्मचारीको कार्यकक्ष बन्द हुनु सरकारी कार्यालयको कार्यशैलीप्रति गम्भीर प्रश्न खडा गर्ने विषय बनेको छ ।
यस्तै, वैद्य निरीक्षक दिपक कुमार ठाकुरको कार्यकक्षमा उनी उपस्थित नभए पनि कोठाभित्र पंखा चलिरहेको अवस्थामा भेटिएको थियो ।
कर्मचारी नभएको कोठामा विद्युत् उपकरण चलिरहेको देखिनुले सरकारी स्रोतको दुरुपयोग र लापरवाहीप्रति समेत स्थानीयले असन्तुष्टि जनाएका छन् ।

औषधालयका अन्य कर्मचारीहरूको कार्यकक्ष पनि खाली देखिएको थियो । सेवाग्राहीहरू कर्मचारीको प्रतीक्षामा बस्न बाध्य भएका थिए भने कतिपय उपचार नपाई निराश भएर फर्किएको स्थानीयको भनाइ छ ।
स्थानीय सेवाग्राही आर.के. कुशवाहाले सरकारी कार्यालयमा यस्तो अवस्था बारम्बार दोहोरिने गरेको गुनासो गरे । उनले उपचारको आशामा औषधालय पुग्दा कर्मचारी नभेटिने, कहिले ताला लागेको हुने र कहिले लामो समयसम्म कुरेर पनि सेवा नपाइने अवस्था रहेको बताए ।
उनका अनुसार सरकारले गाउँमै स्वास्थ्य सेवा सहज बनाउन आयुर्वेदिक औषधालय स्थापना गरे पनि कर्मचारीको नियमित उपस्थितिको अभावले यसको उद्देश्य नै असफल हुँदै गएको छ ।

‘हामी उपचारका लागि आउँछौं । तर, कर्मचारी भेटिँदैन । औषधि लिन आउँदा ताला मात्रै देख्नुपर्छ । यस्तै अवस्था रहने हो भने यस्तो कार्यालय राख्नुको औचित्य के रह्यो?’ भन्दै उनले सम्बन्धित निकायले तत्काल अनुगमन गरी जिम्मेवार कर्मचारीमाथि कारबाही गर्न माग गरे ।
स्थानीयवासीका अनुसार औषधालयमा कर्मचारी नियमित रूपमा नबस्ने समस्या नयाँ होइन । पटक पटक गुनासो गरिए पनि सुधार नआएको उनीहरूको भनाइ छ ।
सरकारी तलबभत्ता खाने कर्मचारी कार्यालय समयमा अनुपस्थित हुँदा त्यसको प्रत्यक्ष मार सेवाग्राहीमाथि परेको उनीहरूले बताएका छन् ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको गैरजिम्मेवार कार्यशैलीले सर्वसाधारणको राज्यप्रतिको विश्वास कमजोर बनाइरहेको स्थानीयको टिप्पणी छ ।

नियमित अनुगमन र प्रभावकारी निगरानी नहुँदा सरकारी कार्यालयहरूमा अनुशासनहीनता बढ्दै गएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बहुअर्वा आयुर्वेदिक औषधालयमा कार्यालय समयमै कर्मचारी अनुपस्थित रहेको विषयमा सम्बन्धित कर्मचारी तथा कार्यालय प्रमुखको प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन ।
स्थानीयले भने औषधालयमा नियमित सेवा सुनिश्चित गर्दै लापरवाही गर्ने कर्मचारीमाथि आवश्यक छानबिन र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

