जनकपुरधाम–७ मा विद्यालय र क्रिकेट टोलीलाई खेल सामग्री वितरण

जनकपुरधाम, १९ असार । जनकपुरधाम उपमहानगरपालिका–७ वडा कार्यालयले स्थानीय विद्यालय र क्रिकेट टोलीलाई खेलकुद सामग्री वितरण गर्दै खेलकुदको विकास तथा युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
वडा कार्यालयले रामजानकी माध्यमिक विद्यालय तथा जनकपुरधाम–७ क्रिकेट टोलीलाई आवश्यक खेल सामग्री हस्तान्तरण गरेको हो ।
वडाध्यक्ष निरज साह ‘मुन्ना’ले एक कार्यक्रमबीच सामग्री वितरण गर्दै खेलकुदले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले वडा कार्यालयले शिक्षा र खेलकुदलाई समान प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रतिभावान खेलाडी र शैक्षिक संस्थालाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने बताए ।
‘युवालाई कुलतबाट जोगाई सिर्जनात्मक र सकारात्मक गतिविधिमा जोड्ने सबैभन्दा प्रभावकारी माध्यम खेलकुद हो । त्यसैले, वडा कार्यालयले खेलाडी र विद्यालयलाई आवश्यक सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ,’वडाध्यक्ष साहले भने ।
विद्यालयका शिक्षक तथा स्थानीय खेलप्रेमीहरूले वडाको पहलले विद्यार्थी र युवा खेलाडीमा उत्साह थपिएको प्रतिक्रिया दिए ।
उनीहरूले यस्ता सहयोगले स्थानीय स्तरमा खेलकुदको विकाससँगै नयाँ प्रतिभा उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
वडा कार्यालयका अनुसार स्थानीय तहमा खेलकुदको आधार बलियो बनाउन र युवामा खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।


