पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम, १८ असार । असई थमन विक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भई पाँच वर्ष कैद सजाय पाएका नेकपा एमालेका पूर्वप्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बिहीबार महोत्तरीको गौशाला नगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउपछि अदालतको फैसला कार्यान्वयन प्रक्रियाका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
कोइरीलाई यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको थियो । तर, उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्टाउँदै उनलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
उच्च अदालतको फैसला आएलगत्तै कोइरीलाई प्रहरीले गौशालास्थित आफ्नै घर नजिकबाट नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी चर्चित मुद्दामा उच्च अदालतको पछिल्लो फैसलापछि दोषी ठहर भएका व्यक्तिहरूमाथि फैसला कार्यान्वयनको प्रक्रिया तीव्र बनाइएको छ ।

