वीरगञ्ज सडक विस्तार विवाद रवि लामिछानेसम्म, उद्योगी व्यवसायीले मागे हस्तक्षेप

पर्सा, १८ असार १८ । वीरगञ्जको गण्डक–भन्सार सडकखण्ड विस्तारका क्रममा भएको संरचना हटाउने कार्यबाट उत्पन्न विवाद अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्म पुगेको छ । स्थानीय उद्योगी व्यवसायीले सडक विस्तारका विषयमा देखिएको अन्योल हटाउन राजनीतिक पहलको माग गरेका छन् ।
बिहीबार वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारका कारण सिर्जित समस्या र व्यवसायीहरूको चिन्ताबारे जानकारी गराएको हो । भेटमा रास्वपा पर्साका सभापति तथा प्रतिनिधिसभा सदस्य हरि पन्तको पनि सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूले वीरगञ्जको मुख्य बजार क्षेत्रमा गरिएको सडक विस्तारका कारण व्यवसाय, आवागमन र स्थानीय जनजीवन प्रभावित भएको बताएका थिए । सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले मुख्य सडकसँग सम्बन्धित अन्य व्यावसायिक समस्यासमेत लामिछानेसमक्ष प्रस्तुत गरेका थिए ।
व्यवसायीहरूको कुरा सुनेपछि लामिछानेले सम्बन्धित मन्त्रीसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
करिब अढाई महिनाअघि सडक विभागले गण्डक–भन्सार सडकखण्डमा छोटो सूचना जारी गर्दै डोजर चलाएर संरचना हटाउन थालेपछि स्थानीय स्तरमा विवाद चुलिएको थियो । त्यसयता सडक क्षेत्र भत्किएका संरचनाको अवशेषले भरिएको छ भने कतिपय व्यवसायी जोखिमपूर्ण भवनमै व्यापार सञ्चालन गर्न बाध्य छन् ।
सडक विस्तारको मापदण्डलाई लिएर पनि अन्योल कायम छ । एउटै त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौंडा र वीरगञ्जमा फरक फरक मापदण्ड लागू भएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् । वीरगञ्ज महानगरपालिकाले सडकको दुवैतर्फ १५–१५ मिटर क्षेत्र मात्र खाली गराउने सिफारिस गरे पनि त्यसअनुसार कार्यान्वयन हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।
यसअघि पनि सडक विभागले बाँकी संरचना हटाउन सात दिने सूचना जारी गरेपछि रास्वपा पर्साले केही समयका लागि कार्य रोक्न आग्रह गरेको थियो । स्थानीय व्यवसायीले स्पष्ट कानुनी आधार, उचित मापदण्ड र पर्याप्त समय दिएर मात्रै सडक विस्तारको काम अघि बढाउनुपर्ने माग दोहोर्याएका छन् ।

