जनकपुरधाम, १८ असार । श्रम तथा रोजगार कार्यालय जनकपुरधामले जनकपुरधामस्थित काव्य अस्पताल प्रालिमा श्रम ऐन तथा सामाजिक सुरक्षा सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको अवस्थाबारे अनुगमन गरेको छ ।

श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख रञ्जित कुमार यादवको नेतृत्वमा बिहीबार सम्पन्न अनुगमनमा सामाजिक सुरक्षा कोषका कार्यालय प्रमुख कैलाश यादव तथा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा अस्पतालमा कार्यरत कर्मचारीहरूको सेवासुविधा, न्यूनतम पारिश्रमिकको कार्यान्वयन, नियुक्तिपत्रको व्यवस्था, श्रम ऐनको पालना तथा सामाजिक सुरक्षा कोषमा आबद्धताको अवस्थाबारे अध्ययन गरिएको श्रम कार्यालयले जनाएको छ ।

अस्पतालका सञ्चालक डा. एस.के. सिंहले अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध हुन प्रतिबद्ध रहेको बताउँदै कर्मचारीलाई सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको जानकारी दिए ।

अनुगमन टोलीले श्रमिकको हकअधिकारको संरक्षण र श्रम कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अस्पताल व्यवस्थापनलाई आवश्यक सुझाव तथा निर्देशन दिएको जनाएको छ ।