–श्याम कुमार ठाकुर
सिरहा, १८ असार ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित थाना चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका मिर्चैया नगरपालिका–५ निवासी अन्दाजी २० वर्षीय राहुल कुमार साहलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा उनले लगाएको जिन्स पाइन्टको खल्तीबाट ५५ वटा साना कालो प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थको तौल प्लास्टिकसहित ८ ग्राम ९० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ४० मिलिग्राम रहेको छ । प्रहरीले साहको साथबाट नगद २ हजार ६२० रुपैयाँ पनि बरामद गरेको जनाएको छ ।

बरामद लागूऔषध र नगदसहित राहुल कुमार साहलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।