बारा, १८ असार । बारामा मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई सार्वजनिक स्थलमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–१६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा मंगलबार बिहान करिब ९ बजे चार बालबालिकालाई बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटना सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूमाथि बालबालिकाविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको छ । बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।

प्रहरीले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा वा दुर्व्यवहार कानुनविपरीत हुने भन्दै यस्ता घटना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।