वडा नं. २३ लाई वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि, नगद २५ हजारसहित ट्रफी प्रदान

जनकपुरधाम, १८ असार । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ को आयोजनामा सम्पन्न वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. २३ ले जितेको छ ।
फाइनल खेलमा वडा नं. १४ लाई पराजित गर्दै वडा नं. २३ विजेता बनेको हो । विजेता टोलीले ट्रफीसहित नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
उपविजेता बनेको वडा नं. १४ ले ट्रफीसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष बेचन साह हलुवाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
त्यसैगरी, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मल चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा वडा समितिका पदाधिकारी, सचिव, खेलाडी तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
पुरस्कार वितरणसँगै प्रतियोगिता औपचारिक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

