निलम्बित सांसद अभिराम शर्माको जन्मकैद घटेर पाँच वर्ष कैद

जनकपुरधाम, १७ असार । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालत जनकपुरले आंशिक राहत दिएको छ ।
उच्च अदालतले जिल्ला अदालतको फैसला संशोधन गर्दै उनलाई पाँच वर्ष कैद सजाय सुनाएको हो ।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता रहेका शर्मा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएपछि फरार छन् ।
उनीविरुद्ध फैसला आएलगत्तै मधेश प्रदेशसभाले सांसद पदबाट निलम्बन गरिसकेको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्टाउँदै तीन अभियुक्तको जन्मकैद सजाय कायम राखेको छ भने चार जनाको सजाय घटाएर पाँच–पाँच वर्ष कैद निर्धारण गरेको हो ।
अदालतले संजय साह, मोहन ठाकुर र प्रदीप रायको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला सदर गरेको छ ।
यस्तै, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको हकमा जन्मकैदको सजाय घटाएर जनही पाँच वर्ष कैद सजाय तोकेको छ ।
यसअघि महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले २०८० मंसिर २८ गते सातै जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
उक्त फैसला विरुद्ध अभियुक्तका परिवारका सदस्यहरूले २०८१ वैशाखमा उच्च अदालतमा पुनरावेदन दिएका थिए । करिब अढाई वर्षसम्म चलेको सुनुवाइका क्रममा ५० औँ पेशीमा पुगेर अन्ततः फैसला भएको हो । यस अवधिमा ४९ वटा पेशी विभिन्न कारणले स्थगित भएका थिए ।
थमन विकको हत्या २०७२ सालको मधेश आन्दोलनका क्रममा भएको थियो । संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीमा महोत्तरी पुगेका असई विक आन्दोलनका क्रममा आक्रमणमा परेका थिए ।
जलेश्वर अस्पतालबाट थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर ल्याउने क्रममा तत्कालीन अनैठा गाविस क्षेत्रमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

