जनकपुरधाम, १७ असार । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत महोत्तरीको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै महतोलाई दोषी ठहर गरेको हो ।

यसअघि जिल्ला अदालतले महतोलाई आरोपबाट सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा पक्षसहितले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको फैसला संशोधन गर्दै महतोलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।

बहुचर्चित असई थमन विक हत्या प्रकरणको पछिल्लो फैसलालाई मधेश प्रदेशको राजनीतिक तथा कानुनी वृत्तमा महत्त्वपूर्ण रूपमा हेरिएको छ ।