धनुषामा २२ सवारीबाट कालो सिसा हटाइयो

जनकपुरधाम, १७ असार । धनुषा प्रहरीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई तीव्र बनाउँदै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानअन्तर्गत २२ वटा सवारी साधनबाट अवैध रूपमा जडान गरिएको कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टिकर हटाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार सञ्चालन गरिएको अभियानमा प्रचलित कानुनविपरीत प्रयोग गरिएका टिन्टेड ग्लास र कालो स्टिकर हटाइएको हो ।
प्रहरीले यस्ता सामग्रीको प्रयोगले सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले सुरक्षा चुनौती बढ्ने जनाएको छ ।
प्रहरीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ बमोजिम राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य व्यक्तिले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अधिकतम २० प्रतिशतसम्म मात्र टिन्टेड ग्लास प्रयोग गर्न पाउने व्यवस्था छ ।
प्रहरीले अवैध कालो सिसा र स्टिकरको प्रयोगले आपराधिक गतिविधि, अवैध कारोबार, फरार अपराधीको आवतजावत, हतियार ओसारपसार तथा शङ्कास्पद व्यक्तिको पहिचानमा समस्या उत्पन्न हुन सक्ने भएकाले यस्तो अभियानलाई निरन्तरता दिइने जनाएको छ ।
प्रहरीले सबै सवारीधनी तथा चालकलाई प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित, व्यवस्थित र सभ्य समाज निर्माणमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।










