धनुषामा १७ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, १७ असार । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका प्रतिवादीहरूको खोजतलास गरी पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू चेक अनादर, जालसाजी, कुटपिट तथा लुटपाट, वन पैदावार, लेनदेन, गर्भपतन र चोरीलगायत विभिन्न मुद्दामा दोषी ठहर भएका थिए ।
उनीहरूमध्ये केहीलाई एक महिनासम्म कैद सजाय तोकिएको थियो भने अन्यलाई एक हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान निरन्तर सञ्चालन भइरहेको बताए ।
उनले अदालतबाट सजाय तोकिएपछि फरार रहेका अन्य व्यक्तिको खोजी पनि जारी रहेको जानकारी दिए ।

