सप्तरी, १७ असार । सप्तरी प्रहरीले मोटरसाइकलको टुलबक्समा लुकाएर ओसारपसार गरिँदै गरेको १०३ ग्रामभन्दा बढी खैरो हेरोइन बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति खडक नगरपालिका–५ खोजपुर निवासी ६२ वर्षीय अमिन चौधरी रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाबाट इन्स्पेक्टर श्याममणि पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विष्णपुर–बोदेबर्साइन सडकखण्डअन्तर्गत बोदेबर्साइन नगरपालिका–२ क्षेत्रमा जाँच गर्ने क्रममा मधेस प्रदेश–०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल रोकेको थियो ।

जाँचका क्रममा मोटरसाइकलको टुलबक्समा लुकाइराखिएको १०३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले चौधरीको साथबाट थप १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ ।

बरामद लागुऔषधसहित पक्राउ परेका चौधरीमाथि लागुऔषध सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय कडरबोनाले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।