भुक्तानी नपाएपछि निर्माण व्यवसायीको विरोध, दुई सरकारी कार्यालयमा तालाबन्दी

जनकपुरधाम, १७ असार । सम्पन्न भइसकेका तथा अन्तिम चरणमा रहेका विकास आयोजनाको भुक्तानी रोकिएको विरोधमा निर्माण व्यवसायी सङ्घ धनुषाले बुधबार पूर्वाधार विकास कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा तालाबन्दी गरेको छ ।
आर्थिक वर्षको अन्तिम दिनसम्म पनि निर्माण सम्पन्न भएका योजनाको भुक्तानी नहुँदा व्यवसायी आर्थिक संकटमा परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
निर्माण व्यवसायीसँगै केही उपभोक्ता समितिका प्रतिनिधिहरू पनि आन्दोलनमा सहभागी भएका थिए ।
निर्माण व्यवसायी सङ्घ धनुषाका पूर्वमहासचिव विनोद कर्णले सबै आवश्यक कागजी प्रक्रिया पूरा भइसकेका आयोजना समेत भुक्तानीबाट वञ्चित हुँदा व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको बताए ।
उनका अनुसार सडक, भवन, सिँचाइलगायत विभिन्न पूर्वाधार आयोजनाको काम सम्पन्न भए पनि भुक्तानी रोकिँदा बैंक ऋण, बैंक ग्यारेन्टी, मजदुरको पारिश्रमिक तथा निर्माण सामग्री आपूर्तिकर्ताको रकम भुक्तानी गर्न समस्या भएको छ ।
उनले विकास निर्माणको काम सम्पन्न गरिसकेपछि पनि सरकारले समयमै भुक्तानी नगर्दा निर्माण व्यवसायीको आर्थिक अवस्था थप कमजोर बन्दै गएको भन्दै तत्काल समस्या समाधान गरी रोकिएको रकम निकासा गर्न माग गरे ।
उता, पूर्वाधार विकास कार्यालय जनकपुरधामका प्रमुख सञ्जीवकुमार साहले निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूले कार्यालयमा तालाबन्दी गरेपछि नियमित प्रशासनिक कामकाज प्रभावित भएको जानकारी दिए ।
प्रमुख साहका अनुसार गैरआवासीय भवन निर्माण शीर्षकअन्तर्गत पूर्वस्वीकृति नलिइएको विषय उल्लेख गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानी रोक्न पत्राचार गरेको थियो ।
अर्थ मन्त्रालयबाट आवश्यक ‘बाधा अड्काउ फुकुवा’ सम्बन्धी निर्णय प्राप्त भएपछि मात्रै भुक्तानी प्रक्रिया अघि बढाउन सकिने जानकारी प्राप्त भएकाले हालका लागि भुक्तानी रोकिएको उनले स्पष्ट पारे ।
भुक्तानी विवाद समाधान नभएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारीमा निर्माण व्यवसायी रहेको जनाइएको छ ।

