पूर्वपश्चिम राजमार्गका होटलमा अनुगमन, बौवा होटलमा अखाद्य सामग्री फेला परेपछि २५ हजार जरिवाना

जनकपुरधाम, १७ असार । होटल तथा रेस्टुरेन्टमा अस्वच्छ र गुणस्तरहीन खाना बिक्री भइरहेको भन्दै सर्वसाधारणबाट गुनासो बढ्न थालेपछि धनुषाको पूर्वपश्चिम राजमार्ग क्षेत्रका होटल तथा किराना पसलमा संयुक्त अनुगमन गरिएको छ ।
मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्रालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर तथा जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त टोलीले लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित होटल तथा पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश होटलमा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना नगरेको, म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको तथा अखाद्य सामग्रीको प्रयोग भएको भेटिएको टोलीले जनाएको छ ।

लालगढस्थित बौवा होटलमा मापदण्डविपरीत प्रयोग गरिएको तेलमा पकाइएको करिब १५ किलो माछा मासु नष्ट गरिएको छ । उक्त होटललाई खाद्य ऐन उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना समेत गरिएको अनुगमन टोलीले जनाएको छ ।
त्यसैगरी, लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित गौतम, पुकार, थापा, कोमललगायत नौ वटा होटल तथा केही किराना पसलमा पनि अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामग्री तत्काल नष्ट गरिएको छ ।
अनुगमन टोलीले होटल व्यवसायीलाई स्वच्छ, सफा र ताजा खाना मात्र बिक्री गर्न, मूल्यसूचीअनुसार सेवा दिन, अत्यधिक मूल्य नलिन तथा प्रचलित मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।


